
बुटवल बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले आफ्नो विरासत कायम गरेको छ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पूरै प्यानलमा जित्दै अनेरास्ववियुले २०४९ सालदेखिको विरासत जोगाएको हो।
अधिकांंश क्याम्पसहरूमा सत्तारूढ दल निकट विद्यार्थी संगठनले गठबन्धन गरी निर्वाचनमा सहभागी भइरहँदा बुटवल बहुमुखी क्याम्पसमा भने अलग-अलग प्यानल खडा गरी निर्वाचन लडेका थिए।
माओवादी निकट अखिल क्रान्तिकारी, नेपाली कांंग्रेस निकट नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी विप्लव, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बहुमत र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहका प्यानललाई पराजित गर्दै अनेरास्ववियुले प्यानलै जितेको हो।
अनेरास्ववियुले प्यानलै जित्दा नेपाल विद्यार्थी संघ भने तेस्रो भएको निर्वाचन समितिले जनाएको छ।
अन्तिम मतपरिणाम अनुसार अनेरास्ववियुका सभापतिका उम्मेदवार दुर्ग बहादुर एमसी १ हजार २१४ मतसहित स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएका हुन्।
निर्वाचन समितिले भने अझै निर्वाचन परिणाम सार्वजनिक गरिसकेको छैन।
त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ६३५ मत र नेपाल बिद्यार्थी संघका सागर पौडेलले ४७४ मत पाएका हुन्।
त्यस्तै, स्ववियु सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डेय तथा कोषाध्यक्ष पदमा सशांंक बस्याल विजयी भएका छन्। कुल ७ हजार ११० विद्यार्थी भएको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो।
सदस्य पदमा अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत विजयी भएका छन्।
२०४९ सालमा खिमलाल भट्टराईले विजय यात्रा सुरू गरेको बुटवल बहुमुखी क्याम्पसमा २०५१ सालमा राजु गुरूङ, २०५३ सालमा तेजेन्द्र केसी, २०५५ सालमा यज्ञ गैरे, २०५७ सालमा रमेश न्याैपाने, २०६० सालमा रमेश राना र २०६३ सालमा बावुराम पन्थीले नेतृत्व गरेका थिए।
२०६५ सालमा निर्वाचन भई मतगणनाको अन्तिम समयमा अखिल क्रान्तिकारीले मतपत्र च्यातेपछि मतपरिणाम घोषणा हुन नसकी स्थगित भएको थियो।प्रकाशित मिति: सोमबार, चैत ६, २०७९, ११:५७:१९34Shares




फेसबुकबाट तपाईको प्रतिक्रिया