शिक्षा सुधारमा लिखुपिके सक्रिय: अध्यक्ष बस्नेतको नेतृत्वमा महत्वपूर्ण चर्चा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका विषयमा केन्द्रित महत्वपूर्ण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममा गाउँभित्रका २२ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले शिक्षालाई गाउँपालिकाको सर्वोच्च प्राथमिकतामा राखिएको बताउँदै, विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि अघि सारिएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने स्पष्ट गर्नुभयो। उहाँको नेतृत्वमा शिक्षा क्षेत्रमा देखिएका कमजोरी पहिचान, सुधारका उपाय र भविष्यका योजनाबारे खुलेर छलफल भएको सहभागीहरूले उच्च प्रशंसा गरेका छन्।

उपाध्यक्ष ङ्वाङ लाक्पा शेर्पाले व्यावहारिक चुनौती समाधान गर्न विद्यालय, अभिभावक र स्थानीय सरकारबीच अझ मजबुत समन्वय आवश्यक भएको धारणा राख्नुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद पराजुलीले विद्यालयहरूमा देखिएका दरबन्दीसम्बन्धी जटिलता, कानुनी प्रावधान तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराउँदै शिक्षा शाखाको पहलबारे सहभागीहरूलाई अवगत गराउनुभयो।

छलफलबाट विद्यालयस्तरमा देखिएका समस्या, स्थानीय तहमै समाधान गर्न सकिने पक्षहरू तथा कानुनी रूपमा समाधान खोज्नुपर्ने विषयको स्पष्ट मार्गचित्र तयार गर्ने सहमति बनेको शिक्षा शाखाले जनाएको छ।

सहभागी तथा जनप्रतिनिधिहरूले विद्यालय संहिता कार्यान्वयन, शिक्षक–विद्यार्थी अनुपात सन्तुलन, स्रोतसाधन व्यवस्थापन र सिकाइ प्रभावकारिता बढाउने उपायहरूबारे व्यावहारिक सुझावहरू प्रस्तुत गरेका थिए। गाउँपालिकाले शैक्षिक सुधारलाई दीर्घकालीन तथा परिणाममुखी बनाउन यस्ता छलफल नियमित रूपमा जारी राखिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *