भारी वर्षाको जोखिमपछि कोशीका पहाडी जिल्लामा उच्च सतर्कता, राति सवारीमा रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

विराटनगर । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

लगातारको वर्षाका कारण पहिरो, गेग्रान बहाव, आकस्मिक बाढी तथा ग्रामीण सडक भासिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले विभिन्न पूर्वतयारी तथा सुरक्षा निर्णय गरेका छन्।

धनकुटा प्रशासनले भेडेटार–रवि–राँके सडक, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर कोरिडोरलगायत सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। सडक अवरुद्ध भए तत्काल खुलाउन जोखिमयुक्त क्षेत्रमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएका छन्।

इलाममा असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सडकमा सवारी आवागमन बन्द गरिएको छ।

भोजपुर प्रशासनले मुन्धुम पदमार्गमा भइरहेको पदयात्रा तत्काल रद्द गरी फर्किन आग्रह गर्दै केही दिनका लागि नयाँ पदयात्रामा समेत रोक लगाएको छ। संखुवासभामा पनि बेलुका ६ बजेपछि मुख्य राजमार्गबाहेकका भित्री कच्ची सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नदी तथा खोला किनारका होटल–रेस्टुराँमा अनावश्यक भेला हुन, राति हिँडडुल गर्न र माछा मार्नसमेत निषेध गरिएको छ।

ताप्लेजुङ प्रशासनले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रा रद्द गरी सुरक्षित स्थानमा बस्न वा फर्किन निर्देशन दिएको छ। सोलुखुम्बुमा पनि पहिरो, गेग्रान बहाव तथा दूधकोशीसहितका नदीमा बाढीको जोखिमलाई ध्यानमा राख्दै ग्रामीण तथा भित्री सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

उदयपुर, खोटाङ, तेह्रथुम र पाँचथर प्रशासनले पनि जोखिमयुक्त क्षेत्र पहिचान गरी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा नबस्न, अत्यावश्यकबाहेक राति तथा लामो दूरीको यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा रेडक्रसलगायतका निकायलाई तयारी अवस्थामा राखिएको कोशी प्रदेश सरकारले जनाएको छ।

प्राधिकरणले नागरिकलाई आधिकारिक मौसम तथा विपद्सम्बन्धी सूचना मात्र पछ्याउन र आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा तथा उद्धार निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *