अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने एक नेपालीको गोलीबाट मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।

सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् ।

नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर थापा रहेको उल्लेख गरेको छ । खसोखासले थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए । हतियार भुइँमा फाल्न पटक-पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए ।

‘हाम्रा प्रहरी अधिकारीले गोली चलाउँदा (ज्वाइँको) ज्यान गइरहेको अवस्था थियो,’ डेभिसले सोमबार पत्रकार सम्मेलनमा भने । प्रहरीका अनुसार अधिकारीहरूले तुरुन्तै ती संदिग्धलाई सीपीआर दिएका थिए, तर घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरियो ।

अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए । ‘ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए, त्यतिबेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि उनले ९११ मा फोन गरे र आफ्नो कोठामा फर्किए,’ डेभिसले भने ।

नजिकैको भवनमा रहेका अर्का एक व्यक्तिले पनि घरेलु विवादको होहल्ला सुनेर ९११ मा फोन गरेका थिए । फेयरफ्याक्स काउन्टीमा भएको घातक खुँडा प्रहारमा प्रहरीले १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा प्रयोग भएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *