ललितपुर–८ का रुविन महर्जन र शिवसताक्षी–८ की इभाना थापाले पाँचौं राष्ट्रिय अन्तरवडा टेबलटेनिस प्रतियोगितामा पुरुष र महिला सिंगल्समा स्वर्ण पदक जितेका छन्।
पुरुष फाइनलमा रुविनले ललितपुर–१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे। महिलातर्फ इभानाले संखुवासभा–४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा हराइन्।
बेलकोटगढी–८ का गनन्जय दाहाल र ललितपुर–७ का एलेक्स महर्जन पुरुष सिंगल्समा तेश्रो भए भने धरान–१६ की दीक्षा दाहाल र काठमाडौं–२६ की अनिता महर्जन महिलामा तेश्रो भए।
वेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं–२६ का चन्दन शाही र ५० वर्षमाथि ललितपुर–११ का राजेन्द्र वज्राचार्य विजेता बने। पुरुष टिम इभेन्टमा ललितपुर–८ ले ललितपुर–७ लाई ३–० ले हराउँदै स्वर्ण जित्यो।
प्रतियोगितामा ललितपुर–८ टिमले कुल ३ स्वर्णसहित च्याम्पियनको उपाधि हात पारे। विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसी, प्रदेश खेलकुद विकास परिषदका सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले सम्मान गरे।
पूर्व जूनियर राष्ट्रिय च्याम्पियन महेश भीमसेरियालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड दिइयो भने दुबइमा पाँचौं एसियाली युथ पारा गेम्समा रजत पदक जितेका स्वीकृत न्यौपाने पनि सम्मानित भए।
प्रतियोगिता अनर मोबाइलको मुख्य प्रायोजन, एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा पाँच दिनसम्म सञ्चालन भएको थियो। करिब ४५० खेलाडीले ११ विधामा प्रतिस्पर्धा गरे र कुल पुरस्कार राशी २ लाख ४० हजार रुपैयाँ रहेको आयोजक ज्याकी महर्जनले जानकारी दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्