काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेपछि अस्पतालहरूले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार प्रदान गरिएको जानकारी गराएको हो ।
सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
चैत १३ मा मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम, शासकीय सुधारको कार्यसूचीमा स्वास्थ्य क्षेत्रका सुधारमा विभिन्न ६ बुँदा समेटिएको थियो । जसअनुसार वीर अस्पताल, गंगालाल हृदय केन्द्र, कान्ति बाल अस्पताललगायत अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयले जनाएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्