हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ७

रियाद : यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ। साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए। हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले बताएका छन्। उनले मृत्यु हुने कूल ६ सय ५८ जनामा ६ सय ३० दर्ता नगरिएका तीर्थयात्री रहेको बताए।

हज तीर्थ यात्राको क्रममा लगभग १० देशका एक हजार ८१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो। राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो। गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महङ्गो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन्। साउदीका अधिकारीहरूका अनुसार यस महिनाको सुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार सुरु भएको मुख्य संस्कारमा बिना दर्ता भाग लिएको देखिन्छ।

अधिकारीहरूले आधिकारिक अनुमति बिना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष गर्मीको जोखिम बढी भएको बताएका छन्। इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीहरूको मृत्यु भएको बताएका छन्।

इजिप्ट बाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छ। मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीहरूको खोजी गरिरहेका छन्।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *