सोलुखुम्बु । आरोही संख्या र रोयल्टी संकलनका आधारमा सर्वोच्च शिखर सगरमाथाले नयाँ कीर्तिमान बनाएको छ ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणमा मानव पाइला टेकेयता एक सिजनमा सर्वाधिक आरोहीले अनुमति लिएको वर्षका रूपमा यो सिजनले कीर्तिमान राखेको हो । यस वर्ष ५० समूहका ४ सय ९२ आरोहीले सगरमाथामा अनुमति लिइसकेका छन् ।
वसन्त ऋतु सगरमाथा आरोहणका लागि अनुकूल मानिन्छ । यसअघि सन् २०२३ मा सर्वाधिक ४ सय ७८ आरोहीले अनुमति लिएका थिए ।
अहिले विश्व पर्यटन बजारमा प्रतिकूल वातावरण छ । पश्चिम एसिया युद्धका कारण इन्धन मूल्य बढ्दा यात्रा महँगो बनेको छ । साथै, हवाई उडान अनिश्चित बनेको छ । यति हुँदाहुँदै आरोहणमा नयाँ कीर्तिमान बन्नुले सरोकारवाला उत्साहित छन् ।
सगरमाथाले यसपालि एकसाथ तीन कीर्तिमान बनाएको गौतमले जानकारी दिए । उनका अनुसार अनुमति लिने टोली, आरोही संख्या र रोयल्टी तीन वटै क्षेत्रमा सर्वाधिक अंक पुगेको छ ।
जारी सिजनमा सगरमाथाले मात्र १ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरिसकेको छ । सरकारले १६ भदौ २०८२ देखि हिमाल आरोहणमा बढेको दस्तुर लागु गरेको थियो । सोही अनुसार पहिलो पटक वसन्त ऋतुका लागि तोकिएको दर कार्यान्वयनमा आएको हो ।
पर्वतारोहण सम्बन्धी छैटौं संशोधन नियमावली २०८१ ले उक्त व्यवस्था गरेको थियो । जस अनुसार साविकमा वसन्त ऋतुमा प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रहेको आरोहण शुल्क अहिले १५ हजार डलर पुगेको हो । शरद ऋतुमा भने सगरमाथा आरोहण रोयल्टी ७ हजार ५ सय डलरमात्र तिरे पुग्छ ।
यस वर्ष सगरमाथा आरोहण गर्न ५५ देशका आरोहीले अनुमति लिएका छन् । जसमध्ये १ सय ५ महिला छन् । सबैभन्दा धेरै चीन र अमेरिकाका नागरिकले सगरमाथा आरोहणे अनुमति लिएको तथ्यांक छ । चीनबाट २६ महिला सहित १ सय ९ र अमेरिकाबाट ९ महिला सहित ७६ आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ ।
त्यस्तै भारतबाट २६ महिला सहित ६१ र बेलायतबाट १ महिला सहित ३२ आरोहीले अनुमति लिएका छन् । नेपालबाट १२ आरोहीले अनुमति लिएका छन् । रुसबाट १८, अस्ट्रेलिया १५, जापान १४, क्यानडा १२ र आयरल्यान्डबाट ११ आरोहीले अनुमति लिएको समेत विभागको तथ्यांक छ ।
यस वर्ष वसन्त ऋतुमा कुल ३० हिमाल आरोहण गर्न १ हजार १ सय ३४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये २ सय ७४ महिला छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्