काठमाण्डौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन) मा शोधनान्तर स्थित ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमात्र थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा पुगेको हो ।
निश्चित समय अवधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
अमेरिकी डलरमा अघिल्लो वर्ष यसै अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ४ अर्ब ६१ करोड बचतमा छ । यस अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । अघिल्लो आव १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ८८ करोडले बचतमा छ ।
यस्तै, यस अवधिमा खुद पूँजीगत ट्रान्स्फर १२ अर्ब ५९ करोड छ । अघिल्लो वर्ष यस्तो ट्रान्स्फर ६ अर्ब ४१ करोड थियो । प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ८४ करोड रुपैयाँ बराबर भित्रिएको छ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्