
मीड सोलु हाइड्रोपावरले निश्कासन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो ।
भदौ २९ गतेदेखि निश्कासन भएको आईपीओमा सीडीएसका अनुसार मंगलबार विहानसम्म १० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १८.७२ गुणा बढी आवेदन हो ।
कहाँबाट आवेदन दिने ?
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको अनुसार आईपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया