काठमाडौँ । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उहाँले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए । यस वर्ष अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उनले जानकारी दिए । जिल्ला दररेट अनुसार गोबरको मल प्रतिकिलो तीन रुपैयाँ २५ पैसा पर्दछ ।
रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनका लागि पनि यो कार्यक्रम उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।
यस कार्यक्रमले पशुपालन र तरकारी तथा फलफूल उत्पादनमा पनि एक अर्कोलाई सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्