महोत्तरी : मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण फरर भन्छन् । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत मान्यता तोड्दै अन्सारीले औपचारिक शिक्षामै संस्कृत व्याकरण विषय रोजेका हुन् ।
मटिहानी–७ मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका छात्र हुन् । कक्षा ८ देखि यसै विद्यालयमा पढ्नु भएका इस्राफिलको संस्कृत भाषा, साहित्यसहित अन्य अनिवार्यबाहेक ऐच्छिक विषय संस्कृत व्याकरण हो । “संस्कृत आदिम भाषा हो, आदिकाल बुझ्न र पढ्न संस्कृत आवश्यक छ भन्ने लाग्यो”, इस्राफिल भन्छन्, “त्यसैले आफ्नो घरपायकको विद्यालयमा संस्कृत पढ्ने अवसर पूरा गर्दैछु ।” आपूmलाई संस्कृत व्याकरणमा आचार्य ९स्नातकोत्तर० गर्ने इच्छा रहेको इस्राफिल बताउछन् ।
“संस्कृत उच्च पठित हिन्दूको भाषा बताउने पनि भेटिन्छन्, तर भाषा कुनै जाति, समुदाय वा धर्म परम्परामा बाँधिएको हुँदैन भन्ने उदाहरण त मै छु”, इस्राफिल भन्छन्, “विद्यालयमा पढ्दा गुरुजन, सहपाठी साथी र अन्य कसैबाट अपहेलित हुनु परेको छैन, बरु मैले सबैबाट मायाँ र उत्साह नै पाएको छु ।” अब इस्लाम धर्म परम्परा र हिन्दूभित्रकै पनि जनजाति र दलित समुदायले संस्कृत विषयको पठनपाठन रोजेर धार्मिक सङ्कुचनको परम्परा तोड्दैछन् ।
इस्राफिल आफ्नो विद्यालयका जेहेन्दार विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउछन् । “इस्राफिल जिज्ञासुसँगै मेहनती छन्”, पौडेल भन्छन्, “विद्यालयमा यिनी औसत हैन, राम्रा विद्यार्थीमध्येका हुन् ।” सबै विषयमा राम्रो मेहनत गर्ने इस्राफिल कम्प्युटर विज्ञानमा पनि राम्रो दख्खल राख्ने पौडेलको भनाइ छ । कम्प्युटरमा राम्रो दख्खल भएका इस्राफिललाई नगरपालिकाले कम्प्युटर अपरेटरको रोजगारी दिएको छ । धार्मिक सहिष्णुताको एक अपूर्व नमूना आफ्नो विद्यालय रहेको इस्राफिल सगर्व बताउछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्