काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका सहकर्मी तथा अन्य कामदारको उद्धारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।
सरकारको आलोचना गरेको भन्दै आफूहरू कारबाहीमा पर्न सक्ने डरले परिचय नखुलाइकन प्रधानमन्त्रीलाई सामूहिक पत्र पठाउँदै उनीहरूले सुरुङभित्र रहेका मानिसको जीवन बचाउन प्रत्येक मिनेट महत्त्वपूर्ण रहेको बताएका छन्।
अनलाइनखबरले प्राप्त गरेको पत्रमा उद्धारका लागि तयार विदेशी टोली तथा अन्य सहयोगीलाई समयमै अनुमति र आवश्यक समन्वय किन हुन नसकेको भन्दै प्रश्न गरिएको छ। एउटा स्थानको उद्धार सकिएपछि मात्र अर्को ठाउँमा टोली पठाउने अवस्थाको अन्त्य गरी जोखिममा रहेका सबै स्थानमा समानान्तर रूपमा खोज तथा उद्धार अघि बढाउन उनीहरूले माग गरेका छन्।
‘अहिलेको प्राथमिकता केवल जीवन बचाउनु हो,’ पत्रमा भनिएको छ, ‘प्रत्येक मिनेटको ढिलाइले कसैको बाँच्ने सम्भावना गुम्न सक्छ।’
उनीहरूले लामो प्रशासनिक प्रक्रिया र औपचारिकतामा अल्झिने समय नरहेको भन्दै तत्काल उद्धार कार्य तीव्र बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई तत्काल अनुमति दिन र आवश्यक स्रोतसाधन सबै प्रभावित क्षेत्रमा एकैसाथ परिचालन गर्नसमेत उनीहरूको माग छ।
सयौँ कर्मचारी अझै सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीअन्तर्गतका विभिन्न आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ।
अपर त्रिशूली–३ ए, अपर त्रिशूली–३ बी, रसुवागढी, चिलिमे, त्रिशूली र देवीघाटलगायत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ।
हालसम्म नेपाली सेनाको टोलीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको छ। रसुवागढी आयोजनाको सुरुङमा समेत सेना प्रवेश गरेर खोजी गरेको थियो। तर, मानिस नभेटिएको भन्दै टोली फर्किएको थियो।
यद्यपि, आयोजना सञ्चालनमा रहेको समयमा पावरहाउसमा कम्तीमा तीन जना कर्मचारी कार्यरत रहेको दाबी गर्दै प्राधिकरण स्रोतले उनीहरूको अवस्थाबारे पुनः खोजी आवश्यक रहेको बताएको छ।
प्राधिकरणअन्तर्गतका आयोजनाबाहेक अपर त्रिशूली–१, लाङटाङ, मैलुङ खोला, रसुवा–भोटेकोशी र मिडल त्रिशूलीलगायत जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन रहेको बताइएको छ।
सम्पर्कविहीन आफ्ना परिवारजनको अवस्था सार्वजनिक गर्नुपर्ने र तत्काल उद्धार थाल्नुपर्ने माग गर्दै आफन्त तथा सरोकारवालाले सरकारसँग लगातार दबाब दिइरहेका छन्। कर्मचारीहरूले समेत प्रधानमन्त्रीलाई लेखेको पत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै ‘कृपया अहिले नै कदम चाल्नुहोस्, अब पर्खने समय छैन’ भनेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्