काठमाडौँ , भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १२ गते दिउँसो सम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २२१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।
तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपदमा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।
बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ । ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली सम्पर्कमा छैनन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।
विपद्मा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत बेपत्ता छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीको अवस्था अज्ञात छ।
बेपत्ताको खोजी र प्रभावितको उद्धारका लागि १४,८२९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ६ हजार ६ सय ९८, नेपाल प्रहरीका ४ हजार ४ सय ७३ र सशस्त्र प्रहरीका ३ हजार ६ सय ५८ जना खटिएका छन्।
हालसम्म २५ जना विदेशी नागरिकसहित ३ हजार ७ सय ४२ जनाको उद्धार भएको छ। उद्धार र राहतका लागि नेपाली सेना र निजी कम्पनीका गरी ७८ वटा हवाई उडान भएका छन्। सरकारले राहतस्वरुप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्री बोकेका १० वटा ट्रक पठाइएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री त्यसतर्फ पठाइएको छ भने प्रभावित क्षेत्रमा सञ्चार सेटहरूसमेत पुर्याइएको छ। हेलिकप्टरमार्फत ४ वटा उडान गरी राहत सामग्री ढुवानी गरिएको छ।
इन्धनको अभाव हुन नदिन नुवाकोटमा पर्याप्त मौज्दात राखिएको छ। त्यहाँका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात छ। नुवाकोटमै ९ हजार लिटर हवाई इन्धनसमेत राखिएको छ। थप इन्धन आवश्यक परे पठाउन तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले बेपत्ता विदेशी नागरिक, विदेश बस्ने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएकाको विवरण ‘आफ्नो फेसबुक पेज र वेबसाइटमा हेर्न सकिने’ जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्