काठमाडौं — नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा मंगलबार विशेष समारोहबीच एक्स्पोको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई सवारीसाधनको प्रदर्शनी तथा कारोबार गर्ने स्थलमा मात्र सीमित नराखी नेपालको समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्। उनले बारम्बार परिवर्तन भइरहने सरकारी नीतिका कारण निजी क्षेत्रमा लगानीको वातावरण प्रभावित भएको भन्दै सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अटोमोबाइल व्यवसायलाई बिक्रीमा मात्र केन्द्रित नगरी सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने धारणा राखे। उनले सवारीसाधन बिक्रीपछिको सेवा प्रभावकारी बनाउन व्यवसायी तथा ब्रान्डहरूलाई सुझाव दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले लामो समयदेखि मुख्यतः राजस्व संकलनको माध्यमका रूपमा हेर्दै आएको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तुका रूपमा नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए। नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये पर्ने भन्सार दर रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीसाधनका लागि समेत स्थिर र पूर्वानुमानयोग्य नीति आवश्यक रहेको बताए।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारको राजस्वमा महत्वपूर्ण योगदान दिने क्षेत्र भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र यातायातमा मात्र सीमित नभई मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताए। मोबिलिटी क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान रहेको बताउँदै उनले बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिलगायतका क्षेत्रसँग यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरे। उनका अनुसार अटोमोबाइल क्षेत्रलाई विलासिताको क्षेत्र नभई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिन आवश्यक छ।
एक्स्पोको पहिलो दिन विभिन्न अटोमोबाइल ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। आयोजकका अनुसार प्रदर्शनी अवधिभर करिब डेढ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोअन्तर्गत मंगलबार ‘इन्भेस्टमेन्ट एन्ड फाइनान्सियल डायनामिक्स’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए। उक्त सत्रमा तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न प्यानल छलफल, नीति संवाद तथा उद्योगसँग सम्बन्धित अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुनेछन्। साथै, ग्रान्डी इन्टरनेसनल हस्पिटलले सवारी दुर्घटनापछि प्राथमिक तथा आकस्मिक उपचारसम्बन्धी विषयमा विशेष प्रस्तुति पनि दिएको थियो।
नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय सवारी निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसँगै नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनीका मुख्य आकर्षण बनेका छन्।
सवारी खरिदकर्तालाई लक्षित गर्दै विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले एक्स्पोमा विशेष योजना, सहुलियतपूर्ण कर्जा तथा अन्य अफरहरू सार्वजनिक गरेका छन्। एक्स्पोमा ग्लोबल आइएमई बैंक सह–प्रायोजक तथा रेडबुल पावरड बाईका रूपमा रहेका छन्। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा सहभागी छन्।
त्यसैगरी, सलिको र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, बोस टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर तथा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनरका रूपमा रहेका छन्। पठाओ नेपाल राइड पार्टनर, अक्वा मिनरल्स हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर तथा ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनरका रूपमा जोडिएका छन्।
एक्स्पोमा आइएमई खल्ती टिकटिङ पार्टनर, युनियन पे कार्ड पार्टनर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर तथा विभिन्न संस्थाहरू डिजिटल, सवारी सुरक्षा, व्यवस्थापन, कनेक्टिभिटी र प्रकाशन पार्टनरका रूपमा सहभागी छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्