काँकरभिट्टा नाकाबाट बढ्दै विदेशी पर्यटकको आगमन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १२

झापा । पूर्वी नाका काँकरभिट्टा हुँदै गत आर्थिक वर्षमा करिब साढे नौ हजार विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्।

अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटकले यो नाका प्रयोग गरेका हुन्। भारतीय नागरिकको आवागमन भने भिसा आवश्यक नपर्ने भएकाले यो तथ्याङ्कमा समावेश गरिएको छैन।

काँकरभिट्टा नाकाबाट ८६ देशका नागरिक नेपाल आए पनि सबैभन्दा धेरै पर्यटक भुटानबाट आएका छन्। भुटानी पर्यटकको संख्या चार हजार ९९४ रहेको छ भने अमेरिकाबाट दुई हजार १५२ जना पर्यटक भित्रिएका छन्।

कार्यालयका अनुसार पुस र माघ महिनामा पर्यटक आगमन बढी हुने गरेको छ। भुटानमा जाडो बिदाका बेला आफन्त भेटघाट तथा धार्मिक यात्राका लागि आउने पर्यटकका कारण यो समयमा चहलपहल बढ्ने गरेको जनाइएको छ।

अध्यागमन सेवा पूर्ण रूपमा सञ्चालन भएको धेरै समय नभएकाले काँकरभिट्टा नाकाबारे अझै धेरै विदेशी पर्यटकलाई जानकारी पुग्न बाँकी रहेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *