सङ्खुवासभा, जेठ १४ — मकालु वरुण राष्ट्रिय निकुञ्जले आगामी जेठ २५ गतेदेखि एक महिनाका लागि यार्सागुम्बा सङ्कलन खुला गर्ने भएको छ। निकुञ्ज प्रशासनका अनुसार असार २५ गतेसम्म अनुमति प्राप्त व्यक्ति तथा समूहले यार्सा सङ्कलन गर्न पाउनेछन्।
यार्सागुम्बा सङ्कलनका लागि विभिन्न सेक्टर कार्यालय र पोष्टमार्फत अनुमति पत्र वितरण गरिने व्यवस्था मिलाइएको छ। सङ्कलकले प्राथमिक उपचार सामग्री, ग्यास वा स्टोभ तथा त्रिपाल लैजान पाउने भए पनि हतियारजन्य सामग्री र विष्फोटक पदार्थ लैजान रोक लगाइएको निकुञ्जले जनाएको छ।मकालु, भोटखोला, सिलिचोङ तथा महाकुलुङ क्षेत्रका स्थानीयका लागि यार्सागुम्बा आम्दानीको प्रमुख स्रोत मानिन्छ। सङ्कलनबाट प्राप्त आम्दानीले घरखर्चदेखि बालबालिकाको शिक्षासम्म धान्ने गरेको स्थानीयको भनाइ छ।
निकुञ्जले स्थानीय र बाहिरी जिल्लाका सङ्कलकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क तोकेको जनाएको छ। यहाँ सङ्कलित यार्सागुम्बा काठमाडौँ तथा चीनको तिब्बत क्षेत्रमा बढी निर्यात हुने गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्