काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी छिन् ।
शर्माको सिफारिसमाथि वैधानिकताको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले भिन्नाभिन्नै रूपमा दिएको रिट गएको वैशाख २५ गते प्रशासनिक तवरबाट दर्ता अस्वीकार गर्दै दरपिठ आदेश भएको थियो ।
रिट निवेदक दिनेश त्रिपाठीका अनुसार कामु प्रधानन्यायाधीश मल्ललाई ध्यानाकर्षण गराएपछि दरपिठविरुद्धको निवेदन आज दर्ता गरेर भोलि पेसी राख्न आदेश भएको छ ।
कामु प्रधानन्यायाधीश मल्लले लिखित आदेशमा भनेकी छन्, ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’
न्यायाधीशहरू समक्ष मुख्य रजिस्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश डा. मनोजकुमार शर्माले नै निर्देशन दिएकाले नगरेको भन्ने कुरा जानकारी गराएको पनि उनले आदेशमा उल्लेख गरेकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्