काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा बेथिति, असुरक्षा र सामाजिक विकृति बढेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन् ।
व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् । सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई २४ घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायीहरूको भनाइ छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र तयारी बिना ल्याइएको २४ घण्टा सञ्चालन अवधारणा व्यवहारिक नभएको बताउँदै यसले अपेक्षित पर्यटन प्रवद्र्धनभन्दा बढी नकारात्मक असर पारेको बताउनु भएको छ । उहाँका अनुसार पर्यटकहरू सामान्यतया निश्चित समयमै खानपान र गतिविधि सक्ने भएकाले मध्यरातसम्म बजार खुला राख्नु आवश्यक छैन।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्