काठमाडौं । रवि लामिछाने ले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिस प्रक्रियामाथि उठेको विवादबारे टिप्पणी गरेका हुन् ।
उनले प्रधान न्यायाधीश सिफारिस प्रक्रियामा “परम्पराभन्दा बाहिर गएको” भन्दै गरिएको आलोचनामाथि प्रश्न उठाउँदै भने, “प्रधान न्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। कसरी ६/६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुने थियो नि । संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्ने थिएन ।”
लामिछानेले सरकारका कदमबारे प्रश्न उठाउँदा भागेर नहिँड्न सांसदहरूलाई निर्देशनसमेत दिए। उनले परम्परा नभत्काइएको भए अहिले पनि भागबन्डाको राजनीति चलिरहेको हुन सक्ने टिप्पणी गरे।
“दुई तिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन,” भन्दै उनले आफूविरुद्ध आक्रोश पोख्नेहरूलाई चुनौतीसमेत दिए।
“मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार,” लामिछानेले भने, “आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ। कागजमा मात्रै बन्दी न्याय नहोस्।”
उनले न्यायालयका विषयमा अनावश्यक टिप्पणी गरेर “जगहसाई नगर्न” पनि आग्रह गरे।
त्यसैगरी, सुकुमबासीको मुद्दामा आफू अझै पनि दृढ रूपमा उभिएको उल्लेख गर्दै भूमिहीन नागरिकले अधिकार नपाउँदासम्म आफ्नो समर्थन जारी रहने बताए।
लामिछानेले आफू राजनीतिमा “जीवनी लेख्न होइन, इतिहास लेख्न आएको” समेत बताएका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्