काठमाण्डौं । ऐतिहासिक विराटनगर जुट मिल्स लिमिटेडका कर्मचारीहरूले श्रम कार्यालयको फैसला बमोजिमको पारिश्रमिक भुक्तानीको माग गरेका छन् ।
लामो समयदेखि उद्योगले त्यहाँ कार्यरत कर्मचारीहरूलाई पारिश्रमिक उपलब्ध नगराएपछि श्रम अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले कर्मचारीहरूको पक्षमा फैसला गरेपछि पनि पाउनु पर्ने पारिश्रमिक नपाएको भन्दै आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरिएको उक्त ज्ञापन पत्रमार्फत कर्मचारीहरूले वर्षौँदेखिको बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
मिल्समा कार्यरत विभिन्न तहका ४६ जना श्रमिक तथा कर्मचारीहरूको २०७३ साल जेठ १ गतेदेखि २०७७ साल मंसिरसम्मको पारिश्रमिक भुक्तानी हुन बाँकी छ । उक्त अवधिभरको जम्मा ३ करोड २ लाख १३ हजार ९२३ रुपैयाँ २२ पैसा भुक्तानी दिलाउन कर्मचारीहरूले माग गरेका छन् । मिलका प्रशासन अधिकृत तारानाथ तिमिल्सिनाका अनुसार ४६ जना कर्मचारीको गरी झण्डै ३ करोड रुपैयाँ बराबरको पारिश्रमिक सरकार र व्यवस्थापनले दिएको छैन ।
यसअघि श्रम कार्यालय मोरङले २०७६ पुस १८ गते नै कर्मचारीहरूको पक्षमा फैसला गरिदिएको थियो । सो फैसला कार्यान्वयन नभएपछि कर्मचारीहरूले विभिन्न निकायमा धाउँदै आएका छन् । २०८१ वैशाख २१ गतेको मितिमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख भएअनुसार, २०८१ साल चैत २१ गते सम्पन्न जुट मिल्सको साधारण सभाले समेत उक्त रकमको अनुमोदन गरिसकेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्