सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । पर्यटन विभागले सगरमाथा आधार शिविर मा रहेका एक्सपेडिसन क्याम्पहरूमा ट्रेकिङ एजेन्सीहरूले ‘ओभरनाइट स्टे’ (रातको बास) सहितको प्याकेज बिक्री गरिरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

केही ट्रेकिङ एजेन्सीहरूले सगरमाथा आधार शिविरमा रात बिताउने गरी गैरकानुनी रूपमा प्याकेजको विज्ञापन गरेको गुनासो प्राप्त भएपछि विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना जारी गर्दै सबै सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीहरूलाई प्रचलित कानुन पालना गर्न सचेत गराएको हो ।

यस्तै, पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को दफा ९ ड २ को व्यवस्था अनुसार आधार शिविरमा पर्वतारोही दलका सदस्यहरू, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदारहरू र आधार शिविरका कामदार र स्थानीय कामदारहरू मात्रै बस्न पाउने छन् ।

यी बाहेक अन्य कुनै पनि व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा राख्न नपाइने व्यवस्था छ । विभागले पर्वतारोहण टोलीका सदस्य बाहेकका पर्यटकलाई रातको बास गराउने गरी प्याकेज बेच्नु कानुनी व्यवस्था विपरीत भएको स्पष्ट पारेको छ ।

विभागका शाखा अधिकृत प्रकाश पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ‘कोही कसैबाट उल्लिखित कानुनी व्यवस्था विपरीतका कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

यसैगरि, विभागले सगरमाथा आधार शिविरमा रहेको अस्थायी फिल्ड कार्यालयलाई समेत यस विषयमा निगरानी बढाउन र नियम पालना गराउन बोधार्थ पठाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *