गैंडाकोटमा सरकारी गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) को रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो गाडी तीव्र गतिमा थियो । एउटा लेनमा भएको गाडी अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेर मात्रै रोकिएको थियो । सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको छ ।

दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *