काठमाडौँ । सुधन गुरुङले आफूले सेयर बजारमा गरेको लगानी ऋणमार्फत जुटाइएको बताएका छन् । विभिन्न मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा भएको दाबी गरेका हुन् ।
गुरुङले बैंकबाट गएको पैसाको स्पष्ट रेकर्ड हुने भएकाले त्यस्तो रकम लुकाउन सम्भव नभएको उल्लेख गरे । “बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ—कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने?” उनले भने ।
लगानीको स्रोतबारे उठेका शंकाहरूलाई स्पष्ट पार्दै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुकमा उक्त ऋणको विवरण रहेको बताए । उनका अनुसार सो ऋण बैंकिङ च्यानलमार्फत प्राप्त भएको र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।
उनले आफ्नो लगानीको स्रोत अनुमानको विषय नभई कागजी प्रमाण र बैंक रेकर्डबाट पुष्टि हुने विषय भएको बताए । “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले जोड दिए ।
यसैबीच, विवादित पृष्ठभूमिका व्यवसायीसँग सम्बन्ध रहेको आरोपबारे पनि उनले अस्वीकार गर्दै सबै कारोबार कानुनी र पारदर्शी रहेको दाबी गरेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्