आज ८३ अंक बढ्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २३, २०८२

काठमाण्डौँ । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो ।

अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए ।

आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए । त्यस्तै आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीसँगको भेटमा पनि उनले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताएका थिए । नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पारेका थिए ।

अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भयो ।

२६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढ्यो ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *