ओलीको बयान शिक्षण अस्पतालको बेडमै लिन थालियो

DaksuMedia दाक्सु मिडिया
|
चैत्र १९, २०८२

काठमाण्डौँ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिन थालिएको छ।

हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओ‌‌लीको जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले बयान लिन थालेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली तत्कालै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना कमजोर भएकाले जिल्ला प्रहरी परिसर र सरकारी वकिलले त्यहीँ पुगेर बयान लिइरहेका छन् ।

विभिन्न आधा दर्जन स्वास्थ्य समस्यासँग जुधिरहेका ओलीलाई चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न नसकिने जवाफ दिएपछि अस्पतालमै पुगेर बयान लिने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् ।

गत शनिबार गुन्डुस्थित निवासबाट पक्राउ परेका ओली त्यसको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । तत्कालीन गृहमन्त्री रमेश लेखक भने अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनको बयान भने त्यहीँ चलिरहेको छ। उनलाई नजिकैको सरकारी वकिलको कार्यालयमा लगेर बयान गराउने क्रम सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *