मकवानपुरका ३४ जना उम्मेदवारले प्रतिनिधिसभा निर्वाचनमा सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको छ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट १८ जना र क्षेत्र नम्बर २ बाट १६ जना उम्मेदवारको जमानत जफत भएको हो। क्षेत्र नम्बर १ मा अघिल्लो निर्वाचनका विजेता राप्रपाका दीपकबहादुर सिंह समेत धरौटी जोगाउन असफल भएका छन्। उनले ४ हजार ५ सय ७४ मत मात्रै पाएका थिए।
क्षेत्र नम्बर १ मा २३ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम (विजयी), नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले मात्र जमानत जोगाउन सके।
त्यस्तै क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। यहाँ रास्वपाका प्रशान्त उप्रेती (विजयी), एमालेका महेश बर्तौला, कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले मात्र धरौटी जोगाए।
निर्वाचन कानुन अनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको १० हजार रुपैयाँ धरौटी जफत हुने व्यवस्था छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्