काठमाण्डौँ । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खस्दा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको मतदान केन्द्रका लागि निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर गइरहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
गाडीमा जम्मा ११ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्। गाडी अनियन्त्रित भएपछि ३ जनाले भने हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटको टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक (सई) रमेश बहादुर थापाको कमान्डमा खटिएको गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले भिरालो र अप्ठ्यारो स्थानबाट घाइतेहरूको उद्धार गरेको हो ।
उद्धार गरिएका ७ जना घाइतेहरूलाई थप उपचारका लागि मन्थली अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्