इरानी सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा संक्रमणकालीन नेतृत्व तय, आक्रमणमा १ सय ३३ सर्वसाधारण मारिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाण्डौँ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानले देशको संक्रमणकालीन व्यवस्थापनका लागि तीन सदस्यीय उच्चस्तरीय नेतृत्व तय गरेको छ।

अर्कोतर्फ, इरानमाथि भइरहेको अमेरिकी र इजरायली आक्रमणमा परी १३३ जना सर्वसाधारणको ज्यान गएको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ ।

इरानको आधिकारिक घोषणाअनुसार अब देशका राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ (कानुनको समीक्षा गर्ने शक्तिशाली निकाय) का एक जना कानुनविद्ले खामेनीको मृत्युपछिको संक्रमणकालीन अवधिको नेतृत्व संयुक्त रूपमा सम्हाल्नेछन्।

इरानको संविधानअनुसार अब ‘एसेम्बली अफ लिडरसिप एक्सपर्ट्स’ले जतिसक्दो चाँडो खामेनीको उत्तराधिकारी नियुक्त गर्नुपर्नेछ।

तर, अमेरिका र इजरायलको निरन्तर आक्रमणका कारण सुरक्षा जोखिम उच्च रहेकोले यस परिषद्का सबै सदस्यहरूलाई तत्काल एकै ठाउँमा भेला गर्न निकै कठिन हुने देखिएको छ ।

यसअघि इरानका तत्कालीन सर्वोच्च नेता रुहोल्लाह खोमेनीको मृत्यु भएकै दिन खामेनीलाई उनको उत्तराधिकारीका रूपमा नियुक्त गरिएको थियो।

तर अहिलेको युद्धको अवस्थाले गर्दा नयाँ नेता चयनमा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ ।

वासिङ्टनस्थित इरानी अधिकारवादी समूह ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’का अनुसार शनिबारदेखि सुरु भएको अमेरिकी र इजरायली आक्रमणमा परी हालसम्म कम्तीमा १३३ जना इरानी सर्वसाधारणको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

संस्थाले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार इरानका १८ वटा प्रान्तमा कम्तीमा ५८ वटा आक्रमणका घटना रेकर्ड गरिएका छन्। यसमध्ये राजधानी तेहरानमा सबैभन्दा बढी आक्रमण भएको छ।

उक्त प्रतिवेदनले सर्वसाधारणको ज्यान जानुका साथै सैन्य तर्फको क्षति, भौतिक पूर्वाधार र शैक्षिक केन्द्रहरूमा पुगेको विनाशलाई पनि औंल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *