गुण्डागर्दी र अन्याय अत्याचार गर्ने जसलाई पनि कानुनी कठघरामा उभ्याउने काठमाडौं–४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं । काठमाडौं, फाल्गुण १३ । युनाइटेड नेपाल डेमोक्रयाटिक पार्टीका काठमाडौं–४ का प्रतिनिधिसभाका उम्मेदवार मुस्कान पौडेलले जेनजी युवालाई सम्बोधन गर्दै मत मागेका छन् । उनको चुनाव चिन्ह ‘पुरुष’ रहेको छ । फाल्गुण २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

पार्टीको केन्द्रीय अध्यक्षसमेत रहेका उनले आफ्नो चुनावी घोषणापत्रको सुरुमै भनेका छन् ‘आदरणीय मतदाता आमाबुबा, दाजुभाई, दिदिबहिनी, जेनजी युवाहरुमा मेरो हार्दिक नमन अभिवादन ।’ उनले नेपालमा प्रजातन्त्र आएको ३६ वर्ष पूरा भएको, राजतन्त्र फ्याल्दै प्रजातन्त्र ल्याएको पनि धेरै वर्ष भए पनि नेपाली जनताले के पाए भनेर मनन गर्ने बेला भएको बताएका छन् ।

उनले यो व्यवस्थाले न त रोजगारी दिएको, न त शान्ति दिएको बरु जनताले पाइरहेको कुरा पनि गुमाएको घोषणापत्रमा लेखेका छन् । उनले सबैको मन छुने कुरालाई यसरी उल्लेख गरेका छन् ‘घरजग्गा बेचेर, ऋण काढेर आफ्ना छोराछोरीलाई विदेशी भूमिमा पठायौं । आज न छोरा फर्कने कुरा गर्छन्, न छोरी । खेतबारी उजाडिएका छन्, खेतबारी जंगल बनेका छन्, घरहरु घाटजस्तै सुनसान छन् ।

के यही हो प्रजातन्त्र ? लोकतन्त्र ? गणतन्त्र ? देशका लागि पुर्खा लडे, हामी लड्यौं तर आज सामन्ती सोच बोकेका नै सत्तामा पुगेका छन् । हामी नेपाली सधैं हेपिने, मिचिने र थिचिने अवस्थामा छौं । यसका लागि दोष केवल नेताहरुको मात्र होइन, हामी स्वयं पनि जिम्मेवार छौं । गाली अर्कालाई गर्ने तर चुनावमा लाइन लागेर उही देश लुट्नेहरुलाई भोट हाल्ने, के यही हो प्रजातन्त्र ? उनले पुराना दलहरुको काम गलत नै भए पनि उनीहरुलाई नै फेरि पनि मतदान गर्ने कुराप्रति आपत्ति जनाएका छन् । उनले एकपटक नेपालीले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

पौडेलले युवाहरुलाई अघि बढाउन, बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि पार्टी स्थापना गरिएको समेत प्रष्ट पारेका छन् । ‘म मुस्कान पौडेल तपाइहरुको घरदैलोमा आएको छु र तपाइहरुको सेवामा समर्पित हुने छु । यस क्षेत्रको विकास, सुशासन, रोजगारी र समृद्धिका लागि म प्रतिबद्ध छु ।

राजनीतिसँगै समाजसेवामा पनि सक्रिय उनले आफूले बोलेका र घोषणा गरेका कुरा पूरा गरेरै छोड्ने बताए । उनले त्यस क्षेत्रका बिरामीहरुलाई क्षेत्रभित्र रहेका अस्पतालहरुमा उपचार गर्दा १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने योजना पनि अघि सारेका छन् ।

क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *