जेनजी आन्दोलनमा नेपालमा पत्नी गुमाएका एक भारतीयले १०० करोड भारु क्षतिपूर्तिको माग गर्दै गराए मुद्दा दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

काठमाण्डौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पत्नी गुमाएका एक भारतीय नागरिकले १०० करोड भारु क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गराएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंह गोला नाम गरेका ती भारतीय नागरिकले दिल्ली उच्च न्यायालयमा मुद्दा दायर गरेका हुन् । उनले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नी पत्नी राजेश गोलाको मृत्यु भएको आफ्नो रिट निवेदनमा उल्लेख गरेका छन् ।

रणवीरले पत्नी राजेशको मृत्यु होटलको चौथो तलाबाट खसेर भएको जिकिर गर्दै आफ्नो निवेदनमा आगजनीका क्रममा होटल जल्न थालेपछि गुहारमाग्दै छतमा जानु परेको र लामो समयसम्म पनि उद्धार हुन नसक्दा हामफाल्ने क्रममा पत्नीले ज्यान गुमाउनु परेको जनाएका छन् ।

रणवीरले मुद्दामा भारतीय विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास, काठमाडौँस्थित हयात रिजेन्सी होटललाई विपक्षी बनाएका छन् । होटल प्रशासनले पाहुनाहरूको सुरक्षाका लागि आश्वासन दिएको, ‘चेकआउट’ गर्नबाट रोकेको र आगजनी हुन थालेपछि माथिल्लो तलामा पठाएको उनको आरोप छ । भारतीय दूतावास र विदेश मन्त्रालयसँग पटक–पटक उद्धारका लागि याचना गरे पनि कुनै मद्दत नभएको उनले रिट निवेदनमा उल्लेख गरेका छन् ।

उक्त रिटमाथि दिल्ली उच्च न्यायालयका न्यायाधीश पुरुषैन्द्र कुमार कौरवको एकल इजलासमा सोमबार प्राथमिक सुनुवाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस क्रममा न्यायाधीश कौरवले नेपालमा भएको घटनाका सम्बन्धमा आफ्नो क्षेत्राधिकारबारे रिट निवेदक पक्षमाथि प्रश्न उठाएका थिए । उनले रिट निवेदनमा हयात होटललाई विपक्षी बनाएकोमा समेत आपत्ति जनाएका थिए ।

उनले रिट निवेदनमा संशोधन आवश्यक रहेको औँल्याउँदै २६ फेब्रुअरीसम्मका लागि यो मुद्दामा सुनुवाइ स्थगित गरेका छन् । रिट निवेदनमाथि आवश्यक संशोधन गरेरमात्र आगामी सुनुवाइ हुने अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *