काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्नेछ, जसको कुल रकम १४ करोड १० लाख रुपैयाँ बराबर रहेको छ ।
एपोलो हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले पाएको छ । कम्पनी हाल ओखलढुंगा जिल्लामा जलविद्युत् आयोजना निर्माणमा सक्रिय रहेको छ ।
सेबोनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म १५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिइसकिएको छ । तीमध्ये ९ वटा जलविद्युत्, एक–एक वटा उत्पादनमूलक उद्योग, होटल तथा पर्यटन क्षेत्र र विकास बैंक रहेका छन् ।
चालु आवको यस अवधिसम्म बोर्डले कुल ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरिसकेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्