काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको बताएको छ । नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको थियो ।
समितिमा नेता देव गुरुङ, प्रमेश हमाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, राजेन्द्र श्रेष्ठ शक्ति बस्नेत लगायत २५ जना रहेका छन् । मस्यौदा अन्तिम चरणमा पुगेकाले केही दिनमा सार्वजनिक गर्ने समितिका सदस्य हमालले जानकारी दिए ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक अन्तरवार्तामा सुशासन, उत्पादन र रोजगारीमा केन्द्रित भएर घोषणा पत्र आउने बताएका थिए ।
प्रचण्डले समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने रु कृषिमा आधुनिकता कसरी ल्याउने ? ऊर्जा क्षेत्रमा क्रान्ति कसरी गर्ने ? पर्यटन विकासका निम्ति स्थानीय स्तरबाट नै पूर्वाधार विकास कसरी गर्ने ? भौतिक पूर्वाधार विकासमा तीव्रता र गति कसरी दिने ? अन्तर्राष्ट्रिय सम्बन्ध कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
मस्यौदा समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जेनजीहरूको मागलाई सम्बोधान गर्ने गरी घोषणा पत्र तयार पारिएको जानकारी दिए । अन्तिम रूप दिनका लागि संयोजक प्रचण्डकोमा पठाइएको र स्वीकृत भएपछि सार्वजनिक गर्ने तयारी गरिएको श्रेष्ठले बताए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्