असन्तुष्टि बिर्सेर रुख चिह्‌न लिएर आउनेलाई जिताउन गगन थापाको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन् । उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकार गरे ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले तल्लो तह (कन्स्टिच्युएन्सी) बाटै उम्मेदवार छानिनुपर्ने पक्षमा आफू रहे पनि पार्टीको पुरानो विधानअनुसार १६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताएका छन् । उनले कतिपय स्थानमा दर्जनौँ नाम सिफारिस भएको र कतिपय ठाउँमा नमिलेको अवस्थामा आफू जिम्मेवारीमा आइपुगेको प्रस्ट पारेका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताएका छन्। जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको उनले उल्लेख गरे । हिजो साँझसम्म पनि सबैलाई मिलाएर लैजाने प्रयास गर्दा समय घर्किएको उनको भनाइ छ ।

महामन्त्री थापाले पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन मिलाउन तथा समावेशी बनाउन अधिकतम प्रयास गरेको दाबी गरे। यद्यपि, सिफारिस भइसकेका नामहरू र समयको अभावले गर्दा सोचेजस्तो नतिजा नआउन सक्ने सङ्केत उनले गरेका छन् । उनले आज दिनभरिमा उम्मेदवारको सबै टुङ्गो लगाइसक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *