निर्वाचन आयोगले किन दियो गगन थापा नेतृत्वलाई मान्यता? यी हुन् तीन कारण

DaksuMedia दाक्सु मिडिया
|
माघ २, २०८२

काठमाडौं, २ माघ — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई मान्यता दिएको छ। आयोगले पार्टी विधान, प्राप्त कागजात र कानुनी प्रावधानको अध्ययनपछि तीन प्रमुख आधार प्रस्तुत गर्दै निर्णय सार्वजनिक गरेको हो।

आयोगका अनुसार पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ, जसअनुसार महाधिवेशन आयोजना भएको ठहर गरिएको छ। साथै, विधानअनुसार महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च निकाय हुने भएकाले उनीहरूले गरेको निर्णय मान्य हुने आयोगको निष्कर्ष छ।

तेस्रो आधारका रूपमा, विशेष महाधिवेशन माग गर्ने विषयमा कुनै औपचारिक आपत्ति नआएकाले महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको आयोगले स्पष्ट पारेको छ।

गत २७ देखि ३० पुससम्म काठमाडौंमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। त्यसपछि अद्यावधिकका लागि आयोगमा निवेदन दिइएको थियो। यसैबीच, १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै आयोगमा उजुरी दिएको थियो। दुवै पक्षका कागजात अध्ययनपछि आयोगले थापा पक्षलाई मान्यता दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *