आयोग गगन र देउवा पक्षको दाबी अध्ययन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।

शाखाले अध्ययन गरेर आयोगमा पेश गर्ने कुरा भएको छ । आयोगको रेगुलर बैठकमै पेस हुनेछ ।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तय भएको छ । यसअघि कांग्रेसबाट मनोनयनपत्रमा हस्ताक्षर शेरबहादुर देउवाको रहने गरी निर्वाचन आयोगमा अभिलेखित छ । त्यसलाई बदलेर गगन थापाको हस्ताक्षर मनोनयनपत्रमा हुने भनेर विशेष महाधिवेशनबाट निर्वाचित समूहले निवेदन दिएको हो ।

तर, शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ ।

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २६ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन चलेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगमा पत्र बुझाएको छ ।

आधिकारिकता विवाद अध्ययन भइरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *