जेनजी फ्रन्टबाट यतिष र मनिषले आगामी प्रतिनिधिसभामा उम्मेदवारी दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । नेपाल जेन-जी फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

अधिवक्तासमेत रहेका उनीहरू जेनजी फ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन् ।

ओझा झापा क्षेत्र नं. ५ बाट चुनाव लड्ने छन् भने खनाल नवलपुर २ बाट चुनाव लड्ने तयारीमा छन् । यदि झापा ५ मा बालेन शाह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा छन् ।

भाद्र २३ र २४ मा भएको जेन-जी आन्दोलनमा अग्रपङ्क्तिमा सहभागी भएका र आन्दोलनपश्चात् त्यसका एजेण्डा स्थापित गर्न तथा म्यान्डेट कार्यान्वयन गराउन निरन्तर सक्रिय रहेका ओझा र खनाल अब संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको नेपाल जेन-जी फ्रन्टका सङ्गठन प्रमुख युजन राजभण्डारीले बताएका छन् ।

राजभण्डारीका अनुसार जेनजी फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन । फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरु सगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन् । कतिपय सदस्यहरू तत्कालका लागि स्थानीय तह वा प्रदेश स्तरमा राजनीति गर्ने तयारीमा छन् ।

हालसम्म जेन-जी नेतामध्ये पुरुषोत्तम यादव र टासी ल्हाजोम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परिसकेका छन् भने अन्य नेताहरूको राजनीतिक बाटो अझै स्पष्ट भइसकेको छैन ।

जेनजी आन्दोलनपछि अगुवाका रूपमा देखा परेका सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । तर कुन पार्टीबाट लड्ने भन्ने खुलाएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *