दमौली, तनहुँ – दमौलीस्थित व्यास नगरपालिका-३ को विपी वनवाटिका खेलमैदानलाई सुरक्षित राख्न स्थानीय युवाहरू एकजुट भएका छन्। खेलमैदानमा बारम्बार मेला र महोत्सव आयोजना हुँदा मैदानको संरचना बिग्रिँदै गएपछि युवाहरूले संरक्षणका लागि पहल थालेका हुन्।
युवा क्लबका प्रतिनिधिहरूले व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते हुने आदिवासी जनजाति महासङ्घको महोत्सव रोक्न माग गरेका छन्।
युवाहरूले बताए अनुसार, मेला/महोत्सव आयोजना गर्दा खेलमैदानमा भौतिक क्षति पुग्ने र खेलकुद विकासमा नकारात्मक असर पर्ने खतरा हुन्छ। भुवन गोशलीले भने, “नगरपालिकाले ६० लाख बजेट लगानी गरेर खेलमैदान स्तरोन्नति गरेको छ। मेला आयोजना गर्दा यो लगानी व्यर्थ जाने खतरा छ।”
स्थानीय वासु सापकोटाले भने, “खेलमैदानको संरक्षण नगरेको खण्डमा आगामी पुस्ताले खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ भोग्नेछ। आज मेला रोक्ने आवाज उठाउने हो भने भोलि अर्को दबाब आउँछ। त्यसैले खेलमैदानलाई राजनीति वा अन्य गतिविधिका लागि प्रयोग हुन दिन्नौं।”
नगरप्रमुख न्यौपानेले भने, “आयोजक पक्षले मैदान नबिग्राउने सहमति जनाएकाले अन्तिम पटकका लागि महोत्सव आयोजना गर्न अनुमति दिइएको हो। प्राप्त रकम खेलमैदानको स्तरोन्नतिमा प्रयोग हुनेछ। दुवै पक्षले बैठक बसेर सहमति निकाल्नुपर्ने छ।”
यस्तो पहलले दमौलीमा युवा चेतना र खेलमैदान संरक्षणप्रति जनचेतना बढाउने विश्वास व्यक्त गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्