काठमाण्डौँ । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया लुम्बिनी प्रदेशमा जारी छ ।
पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश समितिमा पठाउने व्यवस्था छ ।
लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७ जिल्लाबाट सिफारिस प्राप्त भइसकेको छ भने बाँकी ५ जिल्लाबाट आउने क्रममा छन् ।
नेपाली कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेशमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको थियो । तर अहिलेसम्म बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाबाट प्रदेश कार्यसमितिमा सिफारिस पठाउन बाँकी छ।
ती जिल्लामध्ये केहीमा क्षेत्रबाट सिफारिस आए पनि जिल्लाले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ भने कतिपय जिल्लामा अझै निर्णय टुङ्गो लाग्न बाँकी छ। सभापति पुनका अनुसार क्षेत्रबाट सिफारिस आए पनि जिल्लाहरूले बुझ्ने र समन्वय गर्ने क्रममा ढिलाइ भएको हुनसक्छ, तर अधिकांश स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसकेका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्