भोलि उद्घाटन हुने एमालेको ११ औँ महाधिवेशनको अन्तिम तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा हुने भएको हो ।

देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटन स्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिहरू आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उद्घाटन स्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भिड लाग्ने गरेको छ ।

मञ्च निर्माणमा खटिएकी नेकपा ९एमाले० भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले रातदिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताए। उनका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ । करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

चाँगुनारायण मन्दिरको आभास दिने गरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुने गरी विशेष डिजाइन गरिएको उनले बताए । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *