हिमगंगा माध्यमिक विद्यालयको ७३ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २३

सोलुखुम्बु — लिखुपिके गाउँपालिकास्थित हिमगंगा माध्यमिक विद्यालयको गौरवमय ७३ औँ वार्षिकोत्सव विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसँगै भव्य रूपमा सम्पन्न भएको छ। सोमबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र जङ्ग बस्नेतको सभापतित्व तथा प्रदेशसभा सदस्य डोल्मा तामाङको प्रमुख आतिथ्य रहेको थियो।

विद्यालयले वार्षिकोत्सवको अवसरमा हाजिरी–जवाफ (कक्षा १–५) र अंग्रेजी हिज्जे (कक्षा १–३) प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेको जनाएको छ। विद्यार्थीहरूको लगनशीलता र शिक्षकहरूको निरन्तर समर्पणप्रति प्रशंसा व्यक्त गर्दै विद्यालय प्रशासनले शैक्षिक गुणस्तरलाई आगामी दिनमा अझ उकास्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बस्नेतले विद्यालयको ७३ वर्षको यात्रा चुनौतीपूर्ण भए पनि सामूहिक प्रयास र समुदायको साथले विद्यालयले उल्लेखनीय प्रगति गर्न सफल रहेको बताउनुभयो। उहाँले आगामी वर्षमा शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार विकास र प्राविधिक शिक्षा विस्तारलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।

त्यस्तै, प्रमुख अतिथि डोल्मा तामाङले विद्यालयले समुदायको विश्वास जित्दै उत्कृष्ट काम गरिरहेको उल्लेख गर्दै शिक्षा विकासका कार्यक्रमलाई प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो।

लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले शिक्षालाई पालिकाको पहिलो प्राथमिकतामा राखिएको भन्दै भौतिक संरचना, शिक्षक व्यवस्थापनदेखि शैक्षिक गुणस्तर सुधारका सबै क्षेत्रमा पालिकाले पूर्ण सहयोग गरिरहेको बताउनुभयो। सोही अवसरमा विशेष अतिथि दुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङम्बु शेर्पाले विद्यालयले व्यवहारिक सीप र जीवनोपयोगी शिक्षा प्रदान गर्न सके प्रभाव अझ बढ्ने धारणा राख्नुभयो।

कार्यक्रमका क्रममा विद्यालयको विकास, स्थापनाकालीन योगदान तथा सहयोग पुर्‍याउने जग्गादाता, चन्दादाता, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले आगामी दिनमा पनि विद्यालयप्रति निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयले अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तह, पूर्वविद्यार्थी तथा समुदायका सबैको सहयोगका कारण कार्यक्रम सफल र भव्य बनेको बताउँदै सबैप्रति धन्यवाद प्रकट गरेको छ। विद्यालय व्यवस्थापनका अनुसार यो वार्षिकोत्सवले विद्यालय, अभिभावक र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाएको छ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, प्रदेशसभा सदस्य डोल्मा तामाङ, दुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङम्बु शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, नेचासल्यान गाउँपालिका अध्यक्ष धनञ्जय राईलगायत समाजसेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *