पोखराको फल्चामा झलकमान–नारायणगोपाल प्रतिको भावपूर्ण स्मरण

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २०, २०८२

पोखरा — महेन्द्रपुलस्थित पुरानो फल्चा शुक्रबार साँझ साँस्कृतिक राग–धुनले गुञ्जायमान भयो। इँटा र काठले सजिएको त्यो ऐतिहासिक फल्चामा सारङ्गी–मादलका स्वरसँगै दौरासुरुवालमा सिँगारिएर बसेका बालकलाकारहरूको उपस्थिति झनै मनमोहक बनेको थियो।

‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ शीर्षकमा गरिएको विशेष कार्यक्रम हेर्न दर्शकहरू उत्साहपूर्वक जुटेका थिए। छिमेकका बासिन्दादेखि सडक भएर हिँड्ने जो–कसैलाई पनि बालकलाकारको प्रस्तुतिले आकर्षित गरेको थियो।

कार्यक्रम दिवंगत संगीतका महान दुई व्यक्तित्व—स्वरसम्राट नारायणगोपाल (मंसिर १९) र लोकगायक झलकमान गन्धर्व (मंसिर ६)—को स्मृति दिवसको सम्मानमा आयोजना गरिएको हो। रेडियो अन्नपूर्ण र झलकमान गन्धर्व सारङ्गी पाठशालाको सहकार्यमा पूरै मौलिक शैलीमा प्रस्तुति गरिएको आयोजकहरूले जनाए।बालकलाकार अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले एकपछि अर्को गीत सुनाउँदै दर्शकलाई मोहित पारे। ‘आमाले सोध्लिन् नि…’ बाट सुरुआत गरिएको प्रस्तुति झलकमानका लोकप्रिय ‘रामराम राम गए वनैमा…’ तथा ‘राधा पियारीको…’ मा झन् रंगिन बन्यो।

सारङ्गी र मादलको धुनमा नारायणगोपालका ‘केही मिठो बात गर…’ लगायतका गीतहरू नितान्त नयाँ अनुभूति सहित सुनिए। प्रत्येक प्रस्तुति पछि बालप्रतिभाहरू ताली र हौसलाले झनै उत्साहित बने।कार्यक्रमको उद्घाटन पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि/संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संयुक्त रूपमा गरेका थिए। वडाध्यक्ष मर्सानीले स्थानीय तहले कला, संस्कृति र साहित्य प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको बताउँदै पाठशालाका बालप्रतिभालाई अबको दिनमा थप अवसर सिर्जना गर्ने आश्वासन दिए।

कवि श्रेष्ठले नारायणगोपाल र झलकमान गन्धर्वको व्यक्तित्व, सिर्जना र नेपाली संगीतमा उनीहरूको अमूल्य योगदानबारे भावपूर्ण टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *