काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन् ।
आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।
सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।
मिरज नेतृत्वको गरिखान देउ अभियानका अगुवा हरिष भट्टकाअनुसार मंगलबार भने प्रधानमन्त्रीलाई भेट्ने भन्दा पनि गेटअगाडि गएर प्रदर्शन गर्ने योजना थियो ।
सोमबार यो समूहसहित अन्य जेनजी अगुवाले विभिन्न विषय समेट्दै ८ बुँदे संयुक्त मागपत्र सिंहदरबाको गेटमा टाँसेको थियो ।
मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्