ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडामा फोहोर विसर्जन अवरुद्ध हुँदै आएको विषयमा भएको ११ बुँदे सहमति सफलतापूर्वक टुंगिनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकार, स्थानीय समुदाय र सरोकारवालाबीचको निरन्तर प्रयास सफल बन्दै अवरोध हटेकोमा धन्यवाद व्यक्त गरे।
सिंहदरबारमा बिहीबार सम्पन्न सरकार र बञ्चरेडाँडाका स्थानीयवासीबीचको विस्तृत छलफलपछि ११ बुँदे सहमति भएको हो। सहमतिअनुसार स्थानीयवासीलाइ विगतमा चलाइएका मुद्दाहरूको छिटो समाधानका लागि तत्काल निर्णय र पत्राचार गर्ने, ढिलाइ भइरहेको ईआइए प्रतिवेदनलाई शीघ्र तयार गराउने र त्यसका लागि कन्सल्टेन्ट कम्पनीसँग लिखित प्रतिबद्धता लिने प्रक्रिया अघि बढाइनेछ।
यसबाहेक, आगामी आर्थिक वर्षको बजेटमा ईआइएले सुझाएका जग्गा अधिग्रहणका लागि आवश्यक रकम विनियोजन गर्ने तयारी समेत सरकारले अघि बढाउने सहमति भएको छ। साथै बञ्चरेडाँडाका स्थानीयलाई २०८२/८३ का घर–टहरा तथा बाली क्षतिपूर्तिका लागि काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ।
फोहोर व्यवस्थापन समस्याले लगातार उपत्यका र स्थानीय समुदायलाई पिरोलेका बेला बनेको सहमतिले अब नियमित रूपमा फोहोर विसर्जन सहज हुने र दीर्घकालीन समाधानतर्फ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्