काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याणकुमार गुरुङले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको प्रमुख एजेन्डा बनाएर सबै गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार, संविधानले सामना गरिरहेको विषम परिस्थितिबाट देशलाई पुनः सही मार्गमा ल्याउने माध्यम निर्वाचन नै हो ।
‘हाल कांग्रेसको मुख्य लक्ष्य भनेको चुनाव, चुनाव र चुनाव हुनुपर्छ,’ नेता गुरुङले भने, ‘केन्द्रीय कार्यसमिति देखि वडा तहसम्मका सबै संरचनाले तन, मन र वचनले निर्वाचन तयारीमा जुट्नुपर्छ ।’
गुरुङका अनुसार निर्वाचन नै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई सशक्त र गतिशील बनाउने प्रमुख आधार हो । उनले प्रतिनिधिसभा पुनःस्थापनाबारे सर्वोच्च अदालतको निर्णय कांग्रेसका लागि स्वीकार्य हुने स्पष्ट पारे ।
उनले आगामी निर्वाचनमा प्रत्यक्ष, समानुपातिक, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तह सबै तहमा अहिलेसम्म कुनै अवसर नपाएका कार्यकर्तालाई उम्मेदवार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
‘पार्टीभित्र राजनीतिक न्याय, सुरक्षा र अवसरको समान वितरणको अनुभव हुनुपर्छ,’ उनले जोड दिए ।
त्यस्तै, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय संसदीय समितिलाई पूर्णता दिँदा युवाहरूलाई प्राथमिकता दिइने र मनोनीत सदस्यमा ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला समावेश हुनुपर्ने सुझाव पनि उनले दिए ।
गठबन्धनबारे बोल्दै नेता गुरुङले तीनै तहका निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भने आवश्यक परिस्थिति अनुसार सहकार्यको ढोका खुला राख्न सकिन्छ,’ उनले भने ।
उनका अनुसार, कांग्रेसले प्रतिनिधिसभामा एकल बहुमत नआएसम्म सरकार गठन नगर्ने नीति लिनु उचित हुनेछ । आवश्यक परेमा वैधानिक ढङ्गले गठबन्धनको विकल्प खुला राख्न सकिने उनले सुझाव दिए ।
‘गठबन्धनको विषयमा मौसम र मुडअनुसार बोलिने प्रवृत्ति अन्त्य गर्न पार्टीले स्पष्ट वैधानिक व्यवस्था गर्नुपर्छ,’ नेता गुरुङले जोड दिए ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्