कामपाले थालनी गरेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २४, २०८२

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि १ सय १९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिएका हुन् ।

यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तित्व रहेका छन् ।

कामपाको सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको थियो । जसअनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउनेछन् ।

यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ । सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ ।

शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ । स्वयंसेवा गर्न पूर्णरूपले तत्पर र इच्छुक हुनुपर्छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन् ।

भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *