काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ ।
कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक-पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको रूपमा त्यस्ता व्यक्ति ल्याउन नसकिने धारणा रास्वपाले ल्याएको हो ।
पार्टीको चितवनको सौराहामा जारी विस्तारित वैठकमा कार्यवहान सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेशन पेस गर्दै रास्वपाको अहिलेको रवि लामिछानेको नेतृत्वको वाकालत गरेका हुन् ।
उनले अहिलेको नेतृत्वलाई विस्थापित नभइ स्थापित गरेर जानुपर्ने उल्लेख गरेका छन् ।
रास्वपाका धेरै नेताहरूले वैकल्पिक शक्तिको रूपमा उदाइरहेका समूह र व्यक्तिहरूलाई पार्टीमा जोड्नका लागि अनौपचारिक छलफल गरिरहेको थियो । त्यसक्रममा घिसिङ लगायतसँग रास्वपाले छलफल गरेको थियो । तर घिसिङ लगायतका व्यक्तिहरूले पार्टीको नेतृत्व नै दाबी गरेको भन्ने चर्चा भइरहेका बेला रास्वपाभित्र यसलाई स्वीकार्न नसक्ने भन्ने औपचारिक राजनीतिक प्रतिवेदन नै तयार भएको हो ।
अर्यालले पार्टी ‘रिफर्म’ को आवाज र यथार्थ शीर्षकमा छुट्टै बुँदा नै राजनीतिक प्रतिवेदनमा राखेका र नेतृत्वको निरन्तरताको बारेमा प्रस्ताव गरेका छन् ।
उनले रास्वपा ४० महिनाको बामे सर्दै गरेको पार्टी भएकाले यसले सिक्ने क्रम जारी रहेको उल्लेख गरेका छन् ।
एक जीवन्त राजनीतिक पार्टी भएकाले रास्वपा समीक्षा, स्वीकार र पुनर्संरचनाको प्रक्रियाबाटै अघि बढ्ने उनले उल्लेख गरेका छन् ।
उनले व्यक्तिगत रूपमा सबैका कमजोरी (मानवीय र प्रवृत्तिगत) हुने उल्लेख गर्दै त्यस्ता कमजोरी आफूमा पनि रहेको र नेतृत्वमा रहने सबैका सीमा रहेको बताएका छन् ।
पार्टीभित्र रिफर्मको कुरा गर्नेलाई उनले ‘रिफर्म’ को नाममा प्रतिगमन हुन सक्ने भन्दै सचेत गराउन खोजेका छन् ।
‘रिफर्म’ नीति-विचार (राजनीतिक दृष्टिकोण), विधान (सांगठनिक संरचना) र मूल्य(मान्यता (कार्यशैली) मै हो कि, केही पद र व्यक्तिहरूको व्यवस्थापनका लागि मात्र भन्ने कुरामा पनि स्पष्ट हुन आवश्यक छ । जिम्मेवारी हेरफेर र पदपूर्ति मात्रै हो भने ती ‘रिफर्म’ का विषय होइनन्, नियमित अभ्यासका हुन्’ कार्यबहाक सभापति अर्यालले भनेका छन् ।
आग्रह-पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सक्दा मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सक्ने उनले उल्लेख गरेका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्