झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाण्डौँ । बुधबार घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए ।

अन्ततः उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानमात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।

खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । पार्टी निर्णयमा आपत्ति जनाएका खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका थिए ।

यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *