सरकार र दलबीच सहकार्य आवश्यक छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

छठ पर्व २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले भनेका छन्, “युवा पुस्ताको आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र नेपाली जनताबीचको साझा सहकार्य आवश्यक छ । युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ ।”

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरे ।

उनका अनुसार, सूर्यदेवको आराधना र छठी माताको कृपाले सबै नेपालीलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

वैदिक सनातन परम्परामा आधारित यो पर्व सूर्यदेव र छठी माताको आराधनाका रूपमा मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यो पर्वले समानता, पवित्रता र सामूहिक सहअस्तित्वको सन्देश बोकेको सभामुख घिमिरेले बताएका छन् ।

उनले छठ पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्ध, सूर्यको अनन्त ऊर्जा र मेहनतको मूल्य स्मरण गराउने पर्वको रूपमा महत्त्व राख्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *