खुम्बुमा असोजमै हिमपात: पर्यटक याममै आकस्मिक चिसो, जनजीवन प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

सोलुखुम्बु — खुम्बु क्षेत्र असोजमै बाक्लो हिमपातले सेताम्य भएको छ, जुन स्थानीयहरूका अनुसार असामान्य मानिन्छ। जलवायु परिवर्तनको स्पष्ट संकेतका रूपमा आएको यस हिमपातले पर्यटन, ढुवानी, निर्माण र जनजीवन सबै प्रभावित पारेको छ।


शरद् ऋतुसँगै पर्यटकहरूको आगमन सुरु हुने समयमै खुम्बु क्षेत्रमा असोजको तेस्रो सातादेखि हिउँ पर्न थालेको छ। नाम्चेभन्दा माथिल्लो क्षेत्रहरू—गोक्यो, दिङ्बोचे, लाबुचे र फेरेचे—जस्ता गाउँहरू हिउँले सेताम्य भएका छन्। स्थानीय बासिन्दा पासाङ शेर्पाका अनुसार, हिउँको मात्रा यति धेरै थियो कि कतिपय क्षेत्रमा छानामाथि चार फिटसम्म हिउँ जमेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिएअनुसार, दिङ्बोचेमा पाँच होटल हिमपातको भार सहन नसकी भास्सिएका छन्।
जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार, ‘छानाको संरचना हिउँको भारले भत्किएकाले होटलहरू भासिएका हुन्। मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको छ।’


असोज महिनामा यसरी हिउँ पर्नु सामान्य घटना होइन। सामान्यतः मङ्सिरदेखि माघ महिनासम्म मात्र हिमपात हुने गरेकाले यो परिस्थिति जलवायु असन्तुलनको संकेत भएको बताइन्छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार, “पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिनेक्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराउँदै गएको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *